काठमाडौँ – आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT


नेपाली टोलीमा गत अक्टोबरमा ओमानमा भएको आईसीसी टी–२० विश्वकप छनोट खेलेका मध्ये २ खेलाडी परिवर्तन गरिएको छ । जसमा कुशल मल्ल र मोहम्मद आदिल आलम बाहिरिएका छन् भने बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले गत नोभेम्बर–डिसेम्बरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा गरेको प्रदर्शनका आधारमा टोलीमा राखिएको हो । नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।

यस्तो छ विश्वकप खेल्ने नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, नन्दन यादव, शेर मल्ल र लोकेश बम ।

२० राष्ट्रले प्रतिस्पर्धा गर्ने टी–२० विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । जहाँ दुई–दुई पटक टी–२० विश्वकप विजेता राष्ट्रहरु वेष्ट इण्डिज र इंगल्याण्ड रहेका छन् । यस्तै बंगलादेश र इटाली समेत नेपालकै समूहमा रहेका छन् ।

२० राष्ट्र सहभागि हुने विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘सी’ बाहेक समूह ‘ए’मा आयोजक भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, नामिबिया रहेका छन् भने समूह ‘बी’मा आयोजक श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे, ओमान रहेका छन् ।

यस्तै समूह ‘डी’मा न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई रहेका छन् ।

नेपालको तालिका

समूह चरणमा नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछन् । जहाँ नेपालले पहिलो खेल इंग्ल्याण्डविरुद्ध खेल्नेछ । जुन ८ फेब्रुअरीमा हुनेछ । नेपालले समूह चरणको अन्तिम खेल भने १७ फेब्रुअरीमा बंगलादेशविरुद्ध खेल्नेछ ।

८ फेब्रुअरी २०२६ – इंग्ल्याण्डविरुद्ध (स्थान : मुम्बई)
१२ फेब्रुअरी २०२६ – इटालीविरुद्ध (स्थान : मुम्बई)
१५ फेब्रुअरी २०२६ – वेष्ट इण्डिजविरुद्ध (स्थान : मुम्बई)
१७ फेब्रुअरी २०२६ – बंगलादेशविरुद्ध (स्थान : मुम्बई)