काठमाडौं – बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास, उप–मिशन प्रमुख जानान बेबर, तथा किनेरेट एकेडेमी, इजरायलका प्रतिनिधि नरेन्द्र थापासँग औपचारिक भेटवार्ता गरेका छन् ।
उक्त भेटमा बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (PCTEVT) की प्रमुख कार्यकारी निर्देशक शान्ति लामा , अरावा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद बजगाईं, तथा रामशरण पौडेलको पनि उपस्थिति रहेको थियो।
भेटका क्रममा सहभागीहरूबीच कृषि आदान–प्रदान कार्यक्रम (Agricultural Exchange – Learn and Earn Program) लगायत आगामी दिनमा बागमती प्रदेश सरकार र इजरायली साझेदार संस्थाहरूबीच हुन सक्ने सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। छलफलमा कृषि शिक्षा, आधुनिक कृषि प्रविधिको विस्तार, उद्यमशीलता विकास तथा औद्योगिक प्रगतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा विशेष छलफल भएको छ ।
प्रदेशका मुख्यमन्त्री सहितको उक्त भेटमा आगामी दिनमा बागमती प्रदेशभित्रका जनतालाई आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्ने, सीप विकास गर्ने, तथा यसमार्फत दिगो विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउने विषयमा साझा समझदारी कायम गरिएको छ। साथै, प्रदेशभित्रका अस्पताल तथा सार्वजनिक संस्थाहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्ने कुरामा कुशल बार्ता सम्पन्न भएको छ ।



























































