काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लबले मनाङ मस्र्याङ्दी क्लवलाई पराजित गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित दर्ता गर्न समेत सफल भयो । सातदोबाटोको जितमा एकमात्र निर्णायक गोल फोडे फोफानाले खेलको ६१ औं मिनेटमा गरेका थिए । जितसंगै तीन खेलबाट सातदोवाटोको चार अंक भएको छ भने समान खेल खेलेको मनाङको यो लगातार तेस्रो हार हो ।
त्यसअघि शुक्रबार नै भएको पहिलो खेलमा श्री भगवती क्लब टोखाले सानदार जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भगवतीले नव जनजागृति युवा क्लबलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । लिगमा भगवतीको यो पहिलो जित हो । जनजागृतिको तेस्रो हार हो । ३ खेल खेलेको भगवतीको ४ अंक छ । त्यस्तै समान खेल खेलेको नव जनजागृति भने अंकविहीन छ ।




























































