नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालकी सचिव अञ्जना अधिकारीसंग हिमालपोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


युवा संघको सचिवको जिम्मेवारी पाउनु भएको छ । कस्तो अनुभव भइरहेको छ ?


ADVERTISEMENT

# # #


पार्टीगत राजनीति मेरो कर्म हो । यो मेरो आत्म सम्मान हो । राष्ट्रलाई कसरी मेरो तर्फबाट योगदान गर्ने वा देश विकासको लागि मेरो भूमिका के हुन्छ भन्दा त्यो राजनीतिबाट नै चाँडो सम्भव हुन्छ । त्यो पनि जनताको बहुदलीय जनवादलाई अंगिकार गरेर जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमालेको बारेमा मैँले सानैदेखि सुनेको र चासो राखेको थिएँ । स्कुलबाट सुरु गरेको राजनीति आज त्यही पार्टीको जनवर्गीय संगठन युवा संघ नेपालको सचिवसम्म आइपुग्दा गौरवान्वितका साथै एकदमै खुसी छु । यसले ममा जिम्मेवारीबोध पनि गराएको छ ।

तपाई आम महिलाको एउटा प्रतिनिधि पात्रका रुपमा त्यहाँ पुग्नु भएको छ । पछिल्लो समय महिलाहरुको पहुँच राजनीतिक क्षेत्रमा पनि बढ्दै गएको छ । यो यात्रालाई कसरी हेर्नुहुन्छ ?

हाम्रो नेपाली समाज पृतिसत्तात्मक समाज हो भनेर हामीलाई थाहै छ । तर अहिले परिस्थिति परिवर्तन भएको छ । हाम्रो देशमा भर्खरै तीन तहको निर्वाचन सम्पन्न भए । नेतृत्वका लागि यी निर्वाचनमा महिलाको सहभागिता धेरै भयो । यसले महिलाहरुको उपस्थिति बढाएको छ । यो राजनीतिक रुपमा ठूलो उपलब्धी हो । यो यात्रामा नेकपा एमालेको पनि ठूलो भूमिका रहेको छ । त्यस्तै मेरो पनि कहीँ न कहीँ थोरै भएपनि भूमिका रहेको मैँले महशुस गरेको छु ।

यति हुँदाहुँदै पनि कतिपय ठाउँमा पुरातनवादी सोच र विकृतिले नै समाजलाई नियन्त्रित गरिरहेको छ । महिलालाई अहिले पनि दोस्रो दर्जाको नागरिकका रुपमा लिइन्छ । यदि कसैले पहिलो बच्चाको सपना देखेको छ भने त्यो पुरुष नै भइदिए हुन्थ्यो भन्ने सोच हाम्रो समाजमा अहिले पनि छ । यी कुराहरुलाई विस्तारै हटाउँदै जानुपर्छ । यो स्थानसम्म आइपुग्दा मैँले आफूजस्तै धेरै अञ्जनाहरु जन्माउन सक्नुपर्छ । जसले आफ्नो अधिकार र जिम्मेवारीको लागि निर्धक्क भएर लड्न सकून् । त्यस्तो किसिमको चेतनाको विकास गराउने क्षमता मैँले देखाउनुपर्छ भन्ने  संकल्प मैँले गरेकी छु ।

एउटा सशक्त संगठन युवासंघ नेपालको तपाई अहिले सचिव हुनुहुन्छ । देशमा युवा बेरोजगारीको समस्या विकराल छ । अहिले पनि दैनिक हजारौको संख्यामा कामको खोजीमा खाडी जाने गर्छन् । यी लगायतका युवाका समस्या समाधान गर्नका लागि अब युवा संघको भूमिका के हुन्छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । एउटा कुरा तपाईलाई के जानकारी गराउन चाहान्छु भने हाम्रो आठौँ महाधिवेशन बुटवलमा सम्पन्न भयो । त्यो महाधिवेशनभन्दा अगाडी संगठनको अध्यक्ष महेश बस्नेत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा हामीले दई तीन कुरा राज्यसंग जोडदार साथ मागेका थियौँ । किनभन्दा यो मुलुकमा रहेका धेरै दक्ष युवाहरु चाहे त्यो वैचारिक रुपमा होस् वा सीप, ज्ञान क्षमतामा । ती युवाहरुलाई रोक्न उहाँहरुको सीप ज्ञान यही मुलुकमा प्रयोग गरेर आफ्नो देश निर्माण गर्नका लागि हामीले युवा तथा खेलकुद मन्त्रालय मागेका थियौँ । जुन आज सफल भएको छ । त्यो युवा संघको एजेण्डा थियो । त्यसको मातहतमा युवा परिषद् खुलेको छ ।

युवा स्वरोजगारको कुरा हामीले पटकपटक उठाएका छौँ । अर्को कुरा व्यावहारिक शिक्षा दिएर युवाहरुलाई आफ्नै देशमा रोक्नुपर्छ भनेर हामी भनिरहेका छौँ । अर्को कुरा भनेको युवाहरुको हितका लागि सरकार समक्ष दबाब हामी दिइरहन्छौँ । जसले गर्दा युवाका पक्षमा काम होस् । यस्तै विविध कुरा हामी उठाउँछौ । युवासंघ हो-हल्ला नाराबाजी वा आन्दोलन मात्रै गर्ने होइन नीति तथा योजना तर्जुमाका क्षेत्रमा पनि काम गर्छ भन्ने सन्देश दिनुपर्छ ।

देशमा अधिकार र राजनीतिक आन्दोलनका कुराहरु सकिएका छन् भन्ने गरिन्छ । युवा संघ नेपालले पनि आन्दोलन प्राप्तिका लागि सडकमा उत्रिएको थियो । अब एजेण्डा फेरिएको छ । विकास र समृद्धिको नारा लगाइरहँदा त्यसमा युवाहरुलाई जोड्न तपाईहरुले कसरी काम गर्नुहुन्छ ?

प्राकृतिक स्रोत साधान हाम्रो मुलुकमा धेरै छन् । तीनलाई देशको विकास र समृद्धिमा लगाउन सक्नुपर्छ । राजनीति तरल र अस्थिरताबाट अहिले बाहिर आएको छ । अब सबैले विकास र समृद्धिका लागि हातमा हात मिलाएर बढ्नु आवश्यक । युवा संघ नेपाल त्यो कुरामा सहमत छ र भरपुर सहयोग गर्छ । जुन धरातलमा हामी उभिएका छौँ । त्यहीँबाट नै हामीले देशको विकास गर्नुपर्छ । पर्यटन, जलस्रोत, जडीबुडीदेखि लिएर कृषि र खनीजपदार्थ लगायतका क्षेत्रलाई देश विकासका लाई उपयोग गर्नुपर्छ ।

त्यसका लागि सबैभन्दा पहिलो कुरा स्थायी सरकारको आवश्यक हुन्छ । त्यो हामीले बल्ल पाएका छौँ । विकास र समृद्धिका सपना बोकेर साँचै देश विकास गर्न चाहाने नेता अहिले हाम्रो प्रधानमन्त्री बन्नु भएको छ । राज्य र सरकारको नीतिसंग युवासंघ अब हात मिलाएर अगाडी बढ्छ । युवा संघ नेपाल अब आर्थिक समृद्धिका कुरामा, उत्पादनलाई बढाउने कुरामा, देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गराउने कुरामा युवा परिषद्को माध्यामबाट काम गछौँ ।

तपाईको पार्टीले नै अहिले सरकारको नेतृत्व गरिरहेको छ । युवाको विदेश पलायन रोक्नका लागि सरकारी स्तरबाट के कस्ता कदम चाल्नु पर्छ जस्तो लाग्छ ?

पहिलो कुरा त काम गर्ने इच्छा शक्ति नै हो । यदि नेतृत्व तहमा काम गर्ने कुनै इच्छा छैन भने तपाईले जती दबाब दिइपनि केही हुँदैन । तर अहिले हामीले साँचै नै देशको विकास गरौँ भनेर आएका व्यक्तिले सरकारको नेतृत्व गर्नु भएको छ । उहाँमा देश विकासको सपना र भिजन छ । त्यसले गर्दा अब युवाका पक्षमा काम गर्न हामीलाई पनि सहज भएको छ । युवालाई विदेश जानबाट रोक्नका लागि सर्वप्रथमतः देशमा नै रोजगारीको सिर्जना गर्ने हो । त्यो भनेको प्रयाप्त मात्रामा उद्योगधन्दाको सञ्चालन गर्ने हो । विदेशी लगानी ल्याएर उत्पादन थाल्यो भने त्यसले रोजगारका अवसर सिर्जना हुन्छ । जसले बेरोजगारी समस्यालाई निराकरण गर्छ । तर सरकारले विदेशी लगानीको वातावरण भने सिर्जना गर्नै पर्छ । उनीहरुको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नु पर्छ । सातवटै प्रदेशमा एक एक वटा औद्योगिक क्षेत्र स्थापना गर्न सकियो भने त्यसले रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्छ । चुनावका बेला युवाका पक्षमा देखाइएका घोषणाहरु पूरा गर्नुपर्यो । युवालाई व्यावहारिक सीप र ज्ञान दिएर उनीहरुलाई दक्ष बनाउन सकियो भने उनीहरुले नै स्वरोजगारका अवसर सिर्जना गर्न सक्छन् ।

अन्त्यमा, तपाई अहिले एउटा संगठनमा हुनुहुन्छ । अगाडीको भविष्य के देख्नुहुन्छ ? कसरी अगाडी बढ्नुहुन्छ ?

सबैभन्दा ठूलो कुरा भनेको यो मुलुकलाई समृद्ध बनाउने भन्ने हो । सुशासन र कानुनी राज्यको पत्याभूती आम नागरिकलाई गराउनु नै ठूलो कुरा हो । यी कुराहरु भइसकेपछि मुलुक एउटा माथिल्लो खुड्किलामा उक्लिन्छ । त्यसका लागि हामी आफ्नो संगठनप्रति इमान्दार हुनुपर्छ । आम युवाहरु जो हामी तिर फर्केर केही आशा अपेक्षा गरिरहेका छन्, तिनीहरुको प्रतिनिधिको रुपमा सरकारसमक्ष सशक्त आवाज उठाउने कामहरु हामी गर्छौँ । अन्य रचनात्मक तथा सिर्जनशील काममा त हामी लागिरहन्छौँ । स्थानीय सरकारसंग गएर त्यहाँका युवा वर्गका समस्या समाधान गर्ने कुरा, पिछडिएको समुदायको उत्थानका लागि काम गर्ने कुरा, जनताको हितका लागि सरकारलाई खबरदारी गर्ने लगायतका यस्तै कामहरुमा म लागिरहन्छु । अब देश विकास गर्नैपर्छ ।