भोजपुर – भोजपुर जिल्लाका दुर्गम गाउँहरूमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा सुरक्षित रूपमा प्रयोग गर्न सचेतना फैलाउने उद्देश्यले साइबर सचेतना अभियान सञ्चालन गरिएको छ।
इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङ र आईटी कम्पनी जेनिस सोलुसनको संयुक्त आयोजनामा अरुण गाउँपालिका अन्तर्गत प्याउली, चाकु, जरायोदर, चरम्बी लगायतका स्थानहरूमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएका हुन्।
प्याउलीमा आयोजित कार्यक्रममा अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। त्यस्तै चाकुमा गाउँपालिका उपाध्यक्ष विनिता ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व एआईजी भीम ढकालले अबको डिजिटल समाजमा सामाजिक सञ्जालको सही प्रयोग अत्यन्त आवश्यक रहेको बताउँदै ज्ञान र व्यवसायिक क्षमताको विकासका लागि सकारात्मक प्रयोग गर्न आग्रह गरे।
त्यसैगरी इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङका प्रहरी निरीक्षक मिलन थापाले साइबर अपराध, अनलाइन ठगी, व्यक्तिगत गोपनीयता तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा प्रस्तुतीकरण गरेको थियो।
स्थानीय बासिन्दाहरूले गाउँमै आएर साइबर सचेतना कार्यक्रम सञ्चालन गरिएकोमा खुशी व्यक्त गरेका छन्। स्थानीय पालिकाको सहयोग तथा पूर्व एआईजी भीम ढकालको सक्रियतामा अरुण गाउँपालिकाका २० जना युवालाई आईटी तालिम, इन्टर्नसिपको व्यवस्था गरिएको छ भने केही युवालाई घरमै बसेर काम गर्ने गरी रोजगारीको अवसर पनि प्रदान गरिएको जनाइएको छ।
यसैक्रममा अरुण गाउँपालिका–४, पात्लेटारमा जेनिस सोलुसन आईटी कम्पनीको शाखा कार्यालय समेत सञ्चालनमा ल्याइएको छ।

































































