काठमाडौँ – राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासेले निष्पक्ष निर्वाचनमा जोड दिँदै बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए । उनले निर्वाचनपछि बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेकको बिकल्प नरहेको भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले संविधानलाई सहि ट्रयाकमा ल्याउन तोकिएको समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको भन्दै उनले आपत्ति जनाए ।

त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरुले पनि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गरेकी थिइन् ।

यस्तै संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ १४ गते बुधबार बोलाइएको छ ।