काठमाडौँ – नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो ।
उक्त मैत्रीपूर्ण खेलका लागि आफुहरु तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् । खेलअघि शुक्रबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरुले मैत्रीपूर्णलाई लिएर आफूहरु उत्साहित रहेका समेत उल्लेख गरेका छन् ।
नेपाली राष्ट्रिय यू–२० महिला टिमकी कप्तान बिर्सना चौधरीले टीमवर्क र कम्युनिकेशन निकै राम्रो रहेकाले मैत्रीपूर्ण खेलमा कुनै समस्या नहुने र जित आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिन् ।
त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि नेपाली टोली खेलका लागि तयार रहेको बताए । खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।



























































