अमरगढी (डडेल्धुरा) – यहाँको गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगनसिं खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले आज उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गरे ।


ADVERTISEMENT


विसं २०१२ माघ १५ गते जन्मिएका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए । त्यसपछि उनी ५५ वर्षपछि फर्किएका हुन् । गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उनी नागरिकता बनाउन प्रशासन कार्यालय गएका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । उनी करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन् । विसं २०३५ देखि डडेल्धुरा आएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जानकारी दिए ।