काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने स्पष्ट पारेकी छन् ।
बिहीबार भक्तपुरस्थीत जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एकैचरणमा निर्वाचन हुने स्पष्ट पारेकी हुन् । तोकिएको मितिमा निर्वाचन गरेर मतपरिणाम आएपनि आफ्नो जिम्मेवारी पुरा गरेर आफु घर फर्किने उनले बताइन् ।
उनले फागुन २१ गते देशभरको मौसम राम्रो हुने विश्वास व्यक्त गरिन् । प्रधामन्त्री कार्कीले मतपत्र छपाइको काम हेर्दा निकै उत्साह लागेको धारणा राखिन् । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अब जनताले छाप मात्रै लगाउन बाँकी रहेको बताइन् ।
त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हरहालतमा निर्वाचन हुने र सवै तयारी सकारात्मक ढंगले अघि बढेको बताए । निर्वाचनका लागि कुनै सुरक्षा चूनौति नरहेको उनले बताए ।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको र निर्वाचन आचारसंहीता उलंघनमा कडाई गरिएको जानकारी दिए । तोकिएको समयमा निर्वाचन गर्न सरकार संवेदनशील देखिएको र आयोग पनि निर्वाचन गर्न दृढ रहेको उनको भनाई छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगले जानकारी दिएको छ ।
त्यस्तै आयोगले समानुपातीकतर्फको मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको समेत उल्लेख गरेको छ ।



























































