काठमाडौं — नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्ष सफलतापूर्वक पूरा गर्दै १६औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २३ गते नक्सालस्थित नारायणचौरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
२०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। स्थापना कालदेखि नै व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामार्फत संस्थागत विश्वास निर्माण गर्न सफल भएको संस्थाले बदलिँदो वित्तीय परिवेशसँग आफूलाई निरन्तर परिमार्जन गर्दै आएको जनाएको छ।
बैंकले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। साथै इन्भेस्टमेन्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवाहरू पनि सञ्चालनमा रहेका छन्।
संस्थाले संस्थागत परामर्श सेवाअन्तर्गत पुनर्संरचना, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन र लगानी सम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको छ। निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी फण्ड सञ्चालनको तयारी समेत भइरहेको संस्थाले जनाएको छ।
१५औँ वर्षको उपलब्धिलाई संस्थागत गौरवका रूपमा लिँदै बैंकले आगामी दिनमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री तथा दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै संस्थाले ग्राहक, नियामक निकाय, सञ्चारकर्मी, संस्थापक कम्पनी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।



























































