काठमाडौँ – जेनजी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको छ ।
भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी गरिएपछि कोशी प्रदेश सभाले विराटनगर महानगरपालिकासंग मासिक ८ लाख रुपैयामा वीरेन्द्र सभागृह भाडामा लिएको थियो । प्रदेश सभाको सचिवालयका लागि कटहरी स्थित फलफूल तथा थोक बजार लिइएको भएपनि बैठकका लागि पूर्वाधार नबनेका कारण वीरेन्द्र सभागृह भाडामा लिएर प्रदेश सभा बैठक सञ्चालन गरिएको हो ।
कोशी प्रदेश सभाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख अम्बर बहादुर विष्टले जेनजी आन्दोलनका क्रममा धेरै धनजनको क्षति भएको र यसबाट प्रदेश सभालाई पनि अपुरणिय क्षति पुगेको बताए । उनले जेन्जी आन्दोलनका क्रममा उठेका भ्रष्टाचारमुक्त समाज र सुशासनको नारालाई सबैले आत्मसात गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
आठौं अधिवेशनमा सभामुख विष्टले प्रदेश प्रमुखका कार्यालयबाट प्राप्त पत्रहरु, मन्त्रिपरिषद गठन र प्रदेश सभा सदस्य राजिनामा पत्र पढेर सुनाएका थिए भने आठौं अधिवेशनको पहिलो दिन विभिन्न दलका प्रदेशसभा सदस्यहरुले मन्तव्य राखेका थिए ।



























































