काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रीत पार्टीको प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै निर्वाचन केन्द्रीत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धतापत्रमा नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्ति, सुशासन, पारदर्शिता र मितव्ययिता, शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता लगाएतका विषयलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै प्रतिबद्धता पत्रमा आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई जोड दिइएको नेकपा संयोजक प्रचण्डले जानकारी दिए । राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनका लागि नेकपाले विशेष पहल गर्ने उनले बताए । त्यस्तै प्रचण्डले राज्यसत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माणलाई जोड दिइएको उल्लेख गरे ।
वर्तमान निर्वाचन प्रणालीमा एउटै पार्टीले बहुमत प्राप्त गरेर पाँच वर्ष सरकार चलाउने सम्भावना न्यून रहेको रहेकाले निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाइने नेकपाले जनाएको छ । नयाँ प्रतिनिधिसभा गठन भएको एक वर्षभित्र संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानुनहरू तर्जुमा गरी प्रदेश र स्थानीय तहले संविधानबमोजिम प्राप्त गर्ने अधिकार उपभोग गर्ने वातावरण निर्माण गरिने नेकपा संयोजक प्रचण्डले बताए ।
त्यस्तै नेकपाले असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने नेकपा संयोजक प्रचण्डले बताए ।
विदेश पलायन भइरहेका युवा वैज्ञानिक, इन्जिनियर र प्राविधिकलाई स्वदेशमा रोक्न अनुसन्धान अनुदान, कर सहुलियत र सम्मानजनक पारिश्रमिकको व्यवस्था गरिने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ ।



























































