काठमाडौँ – भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १७१ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


भारतको मुम्बईस्थित वांखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको हो । स्कटल्याण्डका लागि स्कोर बनाउने क्रममा माइकल जोन्सले शानदार ब्याटिङ गरे । त्यसक्रममा उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ रज हाने । उनीहरुले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेपछि स्कटल्याण्डले उच्च स्कार बनाएको हो ।


ADVERTISEMENT

# # #


यस्तै ब्रान्डन म्याक्मुलनले २५ रन जोड्दा कप्तान रिचीबेरिंटन र मार्क वाटले समान १०–१० रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन मात्रै खर्चिए । १६औँ ओभरमा सोमपालले माइकल जोन्स र म्याक्मुलनलाई आउट पारेपछि नेपाल खेलमा फर्किएको थियो ।

यस्तै नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए भने कप्तान रोहित पौडेल, कुशल भुर्तेलले समान १–१ विकेट हात पारे । नेपालले जवाफी ब्याटिङ गर्दैछ । विश्वकपको समूह चरणबाटै बाहिरिसकेका यी दुवै टोलीबीचको आजको खेल प्रतिष्ठाको लडाईं रहेको छ ।

जितविहीन रहेको नेपाल पहिलो जितसहित विश्वकप यात्रा टुंगाउने लक्ष्यमा रहेको छ । नेपालले पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ रनले हारेको थियो । तर, दोस्रो र तेस्रो खेलमा खराब प्रदर्शन गर्दै इटाली र वेष्टइण्डिजसँग क्रमशः १० र ९ विकेटले हारेको थियो ।

यता स्कटल्याण्ड पहिलो खेलमा वेष्ट इण्डिजसँग ३५ रनले हारेको थियो भने दोस्रो खेलमा इटालीलाई ७३ रनले हराएको थियो । तेस्रो खेलमा भने स्कटल्याण्ड इंग्ल्याण्डसँग ५ विकेटले हारेको थियो ।