काठमाडौं – नेपाली कांग्रेस जिल्ला स्तरीय महिला परिचालन समितिको आयोजनामा हेटौंडा, मकवानपुरमा महिला भेला तथा उम्मेदवार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचन जित्नका लागि आफू बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले विभिन्न जिल्लामा पुगिरहेको बताए। उनले सबै स्थानमा मतदाता उत्साही देखिएको उल्लेख गर्दै कांग्रेसप्रति जनताको सकारात्मक समर्थन बढ्दै गएको दाबी गरे।
मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणसँगै नयाँ पुस्ताको उदय भइसकेको उल्लेख गर्दै अब देश सञ्चालनका लागि वैचारिक र राजनीतिक रूपमा ठूलो अन्तरसंघर्ष आवश्यक रहेको बताए। उनले नेपाली कंग्रेसले राणा शासनदेखि राजासम्मको कालखण्ड पार गर्दै शान्ति प्रक्रियामार्फत देशलाई विकासको दिशामा अघि बढाइएको स्मरण गरे।
उनले नेपाली कांग्रेसले राजाको नाममा होइन, आम जनताको नाममा राजनीति गर्दै आएको स्पष्ट पारे । उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे। कार्यक्रममा महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


























































