काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई संघीय राजधानी काठमाडौँसँग जोडेर सुनजिक पश्चिम बनाउन आफूहरु लाग्ने बताएका छन् ।
बुधबार कैलालीको धनगढीमा आयोजित रास्वपाको उद्घोषसभालाई सम्बोधन गर्दै बालेनले सुदूरपश्चिमलाई संघीय राजधानीसँग सांस्कृतिक र राजनीतिक रुपमा जोड्ने प्राकृतिक सम्पदाको प्रचार गरेर विकास गर्ने आफ्नो एजेण्डा भएको बताएका हुन् ।
नेताहरुले देशलाई स्वट्जरल्याण्ड बनाउनुपर्ने भाषणा गरिरहेको तर स्वीट्जरल्याण्डभन्दा उत्कृष्ट गन्तव्य सुदूरपश्चिमै रहेको बताउँदै त्यसलाई विकास गर्नुपर्ने बताए ।
उनले भने, ‘स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्यो स्वीट्जरल्याण्ड ? स्वीट्जरल्याण्डको पराकास्टा रामारोशन, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ, किन बनाउनुपर्यो स्वीट्जरल्याण्ड ?’ उनले नेपालीहरु माल भएको तर चाल नपाएको बताए ।
उनले सुदूरपश्चिमलाई संघीय राजधानीसँग जोड्न सकेमा मात्रै विकास हुने बताए । ‘जुन दिन सुदूरपश्चिमको गीत काठमाडौँका चोकचोकमा बज्छन्, अनि जोडिन्छ सुदूरपश्चिम, सुरुमा त गीत बज्नु्पर्यो, अनि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ । सुन्दा सानोजस्तो लाग्छ, तर यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा ।’
उनले आफ्नो एजेण्डा खल्तीमा पैसा नभएको विपन्नले शिक्षा, स्वास्थ्य पाउने अवस्थाको सिर्जना गर्नु रहेको बताए । यस्तै उनले २ वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म पनि नबनिरहेको अवस्थामा त्यस्तो बाटो डेढ वर्षमै सम्पन्न गर्नु रास्वपाको एजेण्डा रहेको उल्लेख गरे ।
‘रुखमा बाँधेर हुन्छ, कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्यो । त्यो हो हाम्रो एजेण्डा ।’ बाटोमा पनि राजनीति भइरहेको उल्लेख गर्दै उनले भने, ‘रास्वपा सरकारमा गयो भने काँग्रेस हिंड्ने बाटो पनि बनाउँछ, एमाले हिंड्ने बाटो पनि बनाउँछ, माओवादी हिंड्ने बाटो पनि बनाउँछ ।’
उनले आफू धेरै बोल्ने मान्छे नभएको र काम गर्ने मान्छे भएकाले आफूलाई काम दिन आग्रह गरे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ तपाईंहरुसँग भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है ! तपाईंहरुले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ ।’


























































