म्याग्दी(रासस)–म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुन (महिला) रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक क्षेत्रीले बेनपा–९, गलेश्वर बस्ने केन कार्कीको घरबाट खड्कबहादुर गर्बुजा, वीरबहादुर शेरपुञ्जा, सिकिन्दरबहादुर बानियाँ, विजय शेरपुञ्जा र केन कार्की पक्राउ परेका बताए । प्रहरी निरीक्षक क्षेत्रीका अनुसार जुवा खेलिरहेको स्थानबाट नगद ५० हजार १४५ बरामद गरिएको छ ।

हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले गैरकानूनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्यूनीकरण कार्यक्रमलाई अगाडि बढाएको छ ।