ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा आइतबार बिहान पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।


ADVERTISEMENT


बिहान करिब १०ः१० बजे इट्टाभट्टामा काम गर्ने क्रममा पर्खाल भत्किँदा मजदुरहरू पुरिएको ललितपुर प्रहरी प्रमुख होविन्द्र बोगटीले हिमालय पोष्टलाई जानकारी दिए । घाइतेहरूलाई तत्काल उद्धार गरी गोदावरी नगरपालिका–१४ ठैबस्थित मिडसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो।


ADVERTISEMENT

# # #


घटनामा रुकुम घर भई सोही इट्टाभट्टामा काम गर्दै आएकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा बिहान १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, रुकुमकै २७ वर्षीया जानकी चन्द गम्भीर घाइते भएकी छन्। उनको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ र उनी बोल्न नसक्ने अवस्थामा रहेकी छन्। उनलाई थप उपचारका लागि मोडल अस्पतालमा रिफर गरिएको छ।

अन्य घाइतेहरूमा सल्यानकी २७ वर्षीया शान्ती कुवर, रोल्पाकी ४६ वर्षीया नन्द कुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्। उनीहरूको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको बताइएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले घटनामा मृतक र घाईतेका लागि प्रशासनका तर्फबाट आवश्यक सहयोग रहने बताएका छन् । सीडीओ भट्टराईका अनुसार घटना संबेदनशिल भएका कारण सबै पक्षबाट साथ सहयोगको आवश्यकता देखिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ बृत सातदोबाटोबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२ जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।