काठमाडौँ – अस्ताउँदो सूर्यलाई अर्य्य दिँदै मंगलबार चैती छठ पर्व मनाइएको छ ।
चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको मुख्य दिन षष्ठी तिथिका दिन मंगलबार साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्य्य दिँदै चैती छठ पर्व मनाएका हुन् ।
पर्वको षष्ठी तिथिका दिन व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, फलपूmल तथा मुला लगाएत ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । साथै सन्ध्याकालीन अर्य्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्य्य अर्पण गर्ने परम्परा रहेको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।


























































