काठमाडौं – नवनिर्वाचित ४७ जना प्रतिनिधिसभा सदस्यले पद तथा गोपनियताको शपथ आफ्नो मातृ भाषामा लिने भएका छन्। संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथको तयारी गरिरहँदा ४७ जना सांसदले नेपाली बाहेकको भाषामा शपथ लिनका लागि नाम टिपाएका हुन् ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फबाट सांसद बनेकी खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिन नाम टिपाएकी छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मैथली भाषामा शपथ लिँदैछन् । यस्तै रास्वपाकै विराजभक्त श्रेष्ठ, अनुष्का श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषा (नेवारी)मा शपथ लिँदैछन् ।
यस्तै सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् । सांसदद्वय गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा शपथ लिने भनेर नाम टिपाएका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको शपथ बिहीबार हुँदैछ । यसअघि २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए ।




























































