काठमाडौं – नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योग बीच ग्राहकलाई लक्षित गर्दै सहकार्य सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंका चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइला क्षेत्रमा रहेका ताजा बेकरीका आउटलेटहरूबाट बेकरी सामग्री खरिद गर्दा विशेष छुट पाउनेछन्।
ग्राहकहरूले नेपाल बैंक मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा न्यूनतम ५०० रुपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
सम्झौतामा बैंकको तर्फबाट मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा ताजा बेकरी उद्योगका प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यो सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।


























































