काठमाडौं – जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।


ADVERTISEMENT


कम्पनीले धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलामा २३.६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सो आयोजनामा लगानी जुटाउन कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड कित्ता शेयर जारी गर्ने योजना बनाएको छ, जसबाट १ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गरिनेछ।


ADVERTISEMENT

# # #


उक्त शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, आयोजनामा कार्यरत कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ। कम्पनीको शेयर संरचनाअनुसार ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको स्वामित्व रहनेछ। कम्पनीको कुल जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहनेछ।

निष्काशन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं ले हस्ताक्षर गरेका छन्।