काठमाडौँ – प्रहरीले काठमाडौँ उपत्यकाबाहिरिने यात्रुलाई जबरजस्ती गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार यात्रुलाई हैरानी दिने काठमाडौंस्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरहरूमा काम गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने सर्वसाधारण यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नु पर्छ भनी सर्वसाधारण यात्रुहरूको झोला तथा सामानहरू जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
जस अनुसार प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थितबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कलंकी स्थित सडक खण्डबाट १ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























































