-शिव पोखरेल


ADVERTISEMENT


काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा हालैको निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शुक्र स्वामी मानिएको वृष राशिका बालेन्द्र साहले रामजयन्तीको शुभ अवसरमा गएको शुक्रवार १२:३३ देखि १२:३४ बजे भित्रको समयमा नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नु भएको थियो। वैदिक विधिअनुसार राजसिंहासन आरोहण (राजाभिषेक) का लागि निश्चित कालशुद्धि आवश्यक भए तापनि वर्तमान लोकतान्त्रिक सन्दर्भमा यसलाई राष्ट्रपति र प्रधानमन्त्रीको शपथ ग्रहणमा लागू गर्ने गरिन्छ।


ADVERTISEMENT

# # #


शास्त्रीय आधार र मुहूर्त विचार

अभिषेक (शपथ ग्रहण) कालशुद्धि-
राजाभिषेकः शुभ उत्तरायणे गुर्विन्दुशुक्रैरुदितैर्बलान्वितैः ।
भौमार्कलग्नेशदशेशजन्मपैन्न चैत्ररिक्तारनिशामलिम्लुचे॥ (मु.चि. १०/१)

राजनीतिक पदस्थापन वा शपथ ग्रहणका लागि ज्योतिषशास्त्रको प्रामाणिक ग्रन्थ श्रीराम दैवज्ञको ‘मुहूर्तचिन्तामणि’ (१०/१) अनुसार: सूर्य उत्तरायण भएको समय, गुरु (बृहस्पति), चन्द्रमा र शुक्र उदित भई बलवान् रहेको अवस्थालाई शुभ मानिन्छ। साथै, शपथ लिने व्यक्तिको जन्मकुण्डलीका महादशा स्वामी, अन्तर्दशा स्वामी र जन्म राशिपति ग्रहहरू पनि उच्च वा स्वगृही भई बलयुक्त हुनु अनिवार्य छ। यद्यपि, सामान्य अवस्थामा चैत महिना, रिक्ता तिथि (४, ९, १४), मङ्गलबार, रात्रिकाल र अधिक मासलाई वर्जित गरिएको छ। वशिष्ठ ऋषिको मतमा बुधबारलाई पनि निषेध गरिएको पाइन्छ। तर, राष्ट्रिय सङ्कट वा सिंहासन रिक्त भएको विशेष परिस्थिति (आपत्काल) मा भने ‘कालशुद्धि’ नहेरी पनि पदभार ग्रहण गर्न सकिने शास्त्रीय प्रावधान छ।

चैत १३ गते शुक्रवारको पञ्चाङ्ग र योग

चैत १३ गते रामनवमीको पवित्र दिनमा शुभ मानिने शुक्रवार र पुनर्वसुको संयोगले ‘सर्वार्थ सिद्धि योग’ र सूर्य चन्द्रमाको नक्षत्र अन्तरको संयोगले दोष निवारण गर्ने ‘रवि योग’ को दुर्लभ संयोग परेको देखिन्छ।

नवमी छलेर दशमी तिथि: नक्षत्र: पुनर्वसु, योग: अतिगण्ड। करण: तैतिल रहेको देखिन्छ। दिनभरिमा सबैभन्दा शुभ मानिने मिथुन लग्न बिहान १०:२७ देखि १२:४१ सम्म रहने यस लग्नको स्वामी शुभ ग्रह बुध हो र यसमा बृहस्पतिको शुभ उपस्थिति छ। कुम्भको लग्नेश बुधलाई पनि शुभ मानिने गुरुको पूर्ण नवम् दृष्टि परिरहेको छ। शपथको समय लग्न अलि संधिको नजिकै परेको देखिए पनि नवमांश कुण्डलीमा लग्न, लग्नेश बुध तथा आफ्नो राशि स्वामी ग्रह शुक्र र बुधको साथमा रहेको राहु र केतु पनि वर्गोत्तम राशिमा रहेको देखिनुलाई पनि एक प्रकारले बलवान र राम्रो संयोग नै मानिन्छ।

अभिजित मुहूर्त र विजय समय

मिथुन लग्नको अवधिभित्रै मध्याह्नमा अत्यन्त शुभ मानिने ‘अभिजित मुहूर्त’ परेको थियो जुन ११:४६ बजेदेखि १२:३५ बजेसम्म थियो।

गएको शुक्रवारको प्रधानमन्त्रीको सपथ कार्यक्रम घरमा बसेर हिमालय टीभीमा प्रत्यक्ष हेर्दा ठीक १२:३३ मा सुरु भएर १२:३४ मा मजाले सकिसकेको थियो। नवमी तिथि, मध्याह्नको सन्धिकाल र राहुकाल र चर लग्नलार्इ छलिएको छ। शुक्रबार मध्याह्न १२:१४ देखि १२:३४ सम्मको अभिजित मुहूर्त शपथका लागि सर्वश्रेष्ठ थियो। सूर्यको होरा अरू कार्यमा त्यति शुभ नमानिए पनि राजकीय र प्रशासनिक कार्यका लागि श्रेष्ठ मानिने हुनाले त्यो पनि शुभ नै थियो।

ग्रहगोचरको विश्लेषण

शुक्र राशि स्वामी भएका वृष राशिका बालेन्द्र साहजीको लागि चैत १३ गते शुक्रवार मध्यान्हमा ग्रह गोचरको बृहत्संहितामा उल्लेख भएअनुसार विचार गर्दा- एघारौँ भावमा रहेको सूर्यले जय,स्थान लाभ, सत्कार, फल दिने भनिएको छ। तेस्रो चन्द्रमाले सुख र विजय, दसौंको मंगल मिश्रित फलदायक र बुध भने शत्रुनाशक तथा धनदायक रहने भनिएको छ। राशिबाट शुभ मानिने दोस्रोमा रहेको मिथुनको गुरु जसले राज्यभावमा पर्ने कुम्भ राशिमा रहेका मंगल, बुध र राहुलार्इ पूर्ण नवम् दृष्टिले हेरिरहेको अवस्था छ। बारौं मेषमा रहेको शुक्रले वस्त्र र धन प्रदान गर्ने तर त्यो अलि स्थायी नहुने एघारौँ भावमा रहेको शनिको फलमा पनि लाभकै कुरा गरिएको छ। गएको फागुन २५ शनिवार साँझमा झापा ५ बाट चुनाव जितेको प्रमाणपत्र प्राप्त गर्दा पनि संयोगवस सर्वार्थ सिद्धि योग साथै रिक्ता तथा शनिवारको संयोगले सिद्धि योगको पनि उपस्थिति थियो। …

अतः अरु जेजस्तो भएपनि शास्त्रीय विधि, पञ्चाङ्गको योग र व्यक्तिगत राशि कुण्डलीको अनुकूलतालाई हेर्दा चैत १३ गतेको मध्याह्न समय बालेन्द्र साहको प्रधानमन्त्रीय कार्यकालका लागि निश्चित रूपमा एक ऐतिहासिक र शुभ प्रस्थानविन्दु बन्ने संकेत गरेको बुझिन्छ। यसभन्दा अघिका कुनै पनि प्रधानमन्त्रीज्यूहरूले अनिवार्य विचार गर्नै पर्ने यस्ता साइत सम्बन्धित महत्वका कुराहरू गम्भिर भएर बुझ्ने र आत्मसात् गर्ने प्रयत्न कदापि गरेको देखिएको थिएन। संभव भएसम्म विधि पुर्‍याएर यतिसम्म गरिनु पनि देशमा हुन वा घट्न सक्ने ठूला प्राकृतिक अप्रिय घटनाहरूमा पनि धेरैले हदसम्म कमी आउनसक्ने मान्न सकिन्छ।

वाल्मीकि रामायणमा उल्लेख भएअनुसार जब चन्द्रमा पुनर्वसु नक्षत्रले संयुक्त हुन्छ, तब बृहस्पति-देवताको पुष्य नक्षत्रमा राज्याभिषेक-जस्तो महनीय कार्य सम्पन्न गरिने गरिन्थ्यो । श्रीरामको राज्याभिषेकको लागि यस्तै नै शुभमुहूर्त निर्धारित गरिएको थियो।

बुधवारलाई छोडेर प्रत्येक दिनको आठौँ मुहूर्त ‘अभिजित्’ मुहूर्त भनिन्छ -अष्टमे दिवसस्यार्थे त्वभिजित् संज्ञकः क्षणः । ‘मध्याह्नात् पूर्वापर’ कालमा प्राप्त हुने यस मुहूर्तको समयावधि लगभग २ घटी अर्थात् ४८ मिनट हुन्छ।

शत्रुमाथि विजय प्राप्तगर्ने उद्देश्यले गरिने आफ्नो समर-यात्राको यात्राको लागि भगवान् श्रीरामले अभिजित् – मुहूर्तको नै चयन गर्नुभएको थियो र त्यसै कालावधिमा सैन्य-संचालनको लागि सुग्रीवलाई निर्देश दिनुभएको थियो। संयोगवश त्यस दिन विजय-यात्राको मान्य नक्षत्रहरूमा परिगणित उत्तराफाल्गुनी नक्षत्र पनि थियो र पुष्य नक्षत्र पनि उसबाट धेरै टाढा थिएन। यस दुर्लभ मणिकांचन-संयोगको समय प्रस्थान गर्ने सेनालाई विजयश्री प्राप्त भएको थियो यही अभिजित्लाई ‘विजय मुहूर्त’ भन्नुको रहस्य हो। श्रीरामको निर्देश यस प्रकार छ-

अस्मिन् मुहूर्ते सुग्रीव प्रयाणमभिरोचय ।
युक्तो मुहूर्ते विजये प्राप्तो मध्यं दिवाकरः ॥
उत्तराफाल्गुनी ह्यद्य श्वस्तु हस्तेन योक्ष्यते ।
अभिप्रयाम सुग्रीव सर्वानीकसमावृताः ॥ (वा.रा.६/४/३,५)

अतः अनुकूल र प्रतिकूल समयलाई जानेर प्रतिकूल वातावरणबाट मानवलाई बचाउने गर्नु र अनुकूल वातावरणसँग मानव मात्रको अभ्युदयको समय जान्नु यो मुहूर्त ज्योतिषीको सर्वश्रेष्ठ कर्तव्य हो।