काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई जिम्मेवारी दिने तयारी गरेको छ । दलको नेता भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली छन् ।


ADVERTISEMENT


यसैगरी प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी देव गुरुङले र सचेतकको जिम्मेवारी शान्ता चौधरीले पाउने सम्भावना छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभा र राष्ट्रियसभाको कार्यविभाजनबारे छलफल भएको थियो । सो छलफलमा नेम्वाङ, गुरुङ र चौधरीको जिम्मेवारीलाई यथावत राख्ने सहमति भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि नेम्वाङ तत्कालीन एमालेको संसदीय दलको उपनेता र गुरुङ तत्कालीन माओवादीको प्रमुख सचेतकको जिम्मेवारी थिए । यसैगरी सचेतक तत्कालीन एमालेबाट शान्ता चौधरी थिइन् । अब नेकपाको सचेतक पनि चौधरीलाई बनाउने तयारी छ ।

उनीहरु पहिले जुन जिम्मेवारीमा थिए, पार्टी एकतापछि बनेको नेकपामा पनि सोही जिम्मेवारी दिने सहमति ओली र प्रचण्डबीच भएको एक नेताले बताए ।

राष्ट्रियसभामा शर्मालाई निरन्तरता
यसैगरी राष्ट्रियसभाको संसदीय दलको नेतामा तत्कालीन माओवादीका दिनानाथ शर्मा रहने स्रोतले बतायो । शर्मा माओवादीबाट राष्ट्रियसभामा नेता थिए ।

यसैगरी प्रमुख सचेतकमा तत्कालीन एमालेबाट खिमलाल भट्टराई रहनेछन् । प्रतिनिधिसभाको सभामुखमा तत्कालीन माओवादीबाट कृष्णबहादुर महरा र राष्ट्रियसभाको अध्यक्षको अध्यक्ष तत्कालीन एमालेका गणेश तिमिल्सिना छन् ।