हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को प्रमुख आतिथ्यतामा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिँदै व्यापारीहरूले नाफा–नोक्सानप्रति इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्।


ADVERTISEMENT


उनले हेटौंडामा सडक विस्तारसम्बन्धी ‘२५ मिटर कि २२ गज’ भन्ने अन्योल अझै कायम रहेको उल्लेख गर्दै त्यसका कारण धेरै घर भत्किएको र पसल विस्थापित भएकाले व्यवस्थापनमा समस्या देखिएको बताए।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले औद्योगिक क्षेत्र बागमती प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पार्दै नेपाल राष्ट्र बैंक केन्द्रीय सरकारअन्तर्गत पर्ने भएकाले आवश्यक समन्वयमार्फत समस्या समाधानका लागि पहल गरिने बताए। सडक विस्तारबाट प्रभावित घरधनी तथा व्यापारीप्रति प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले नयाँ सरकार सहकार्यका लागि तयार रहेको धारणा राखे।

त्यसैगरी, सडक विस्तारबाट प्रभावित व्यापारीहरूको घर निर्माण र सडक सुविधा सुनिश्चित नभएसम्म बैंक ब्याज मिनाहा गर्न संघीय सरकारसँग आग्रह गरिने उनले बताए।

विज्ञापनसम्बन्धी नीतिबारे बोल्दै मुख्यमन्त्री बानियाँले तीनै तहका सरकारले स्पष्ट र व्यवहारिक नीति बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले केन्द्र सरकारले सरकारी विज्ञापन वितरणसम्बन्धी जारी गरेको परिपत्रबारे टिप्पणी गर्दै, सरकारी सञ्चारमाध्यमबाहेक अन्य मिडियामा विज्ञापन प्रवाहमा गरिएको सीमाबारे पुनर्विचार आवश्यक रहेको बताए।

“यदि त्यो अधिकार बागमती प्रदेशलाई दिइयो भने आवश्यक समायोजन गर्न म तयार छु,” मुख्यमन्त्री बानियाँले भने।