काठमाडौं — नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रबिन सिजापती नियुक्त भएका छन्।


ADVERTISEMENT


उनले आज आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।


ADVERTISEMENT

# # #


संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको यही चैत ९ गते असामयिक निधन भएपछि चैत २४ गते बसेको सञ्चालक समितिको २०१औं बैठकले सिजापतीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो।

सपथ ग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको वर्तमान अवस्थाबारे जानकारी दिँदै १२ वर्ष पूरा गरेको संस्थाले हाल हिमाल, पहाड र तराईका ७४ जिल्लामा रहेका १८५ शाखामार्फत करिब २ लाख ६० हजार सदस्यलाई सेवा प्रदान गरिरहेको बताए। उनका अनुसार संस्थाको कर्जा लगानी २७ अर्ब रुपैयाँभन्दा बढी, बचत संकलन ६ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने करिब ९०० कर्मचारी कार्यरत छन्।

नवनियुक्त अध्यक्ष सिजापतीले नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनहरूको कडाइका साथ कार्यान्वयन गर्दै संस्थालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले संस्थाको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजान सुझाव दिए। साथै, उनले सिजापतीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।