काठमाडौँ – सर्वोच्च अदालतले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बिहीबार सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो ।
खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । तर, विदेश जानको लागि अदालतको आदेश अनिवार्य गरिदिएको छ । यस्तै सर्वोच्चले खड्काको पक्राउ पूर्जी र म्याद थप नै कानुन सम्मत नदिएको बताएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘निजको पक्राउ पूर्जी र म्याद थप कानूनसंगत देखिएन। निज माथिको दाबीको कसूरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिंदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । प्रस्तुत आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकोले यो संक्षिप्त आदेश जारी गरिदिएको छ ।’
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा खड्काको घरमा ठूलो परिणाममा पैसा भेटिएपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा गत चैत्र १५ गते पक्राउ परेका थिए ।


























































