काठमाडौँ – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा अगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त बनेको भवनको पुनःनिर्माणपश्चात उद्घाटन गरिएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उक्त भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका सयौँ सरकारी जलेर क्षति पुगेकामा प्रदेश सरकार र भौतिक पूर्वाधार मन्त्रालयको सक्रियतामा ममर्त र पुनर्निमाण गरी सञ्तालनमा ल्याउने क्रम तीव्र रहेको बताए ।
सोही अनुसार मन्त्रालयका क्षतिग्रस्त संरचना मर्मत गरी पुनः सञ्चालनमा ल्याउने बागमती प्रदेश सरकार पहिलो बनेको उल्लेख गरे । साथै उनले अन्तरिम सरकारले जग्गा प्राप्तीको प्रक्रिया टुंग्याएकाले रुख कटान गरेर प्रदेशका संरचना बनाउने प्रक्रिया सुरु भएकाले यसै आर्थिक वर्ष टेन्डर प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
जनतालाई सेवा दिने कुरामा संरचना मात्रै नभई हरेक कुरा पारदर्शी र जिम्मेवार बनाएर चुस्त दुरुस्त प्रशासनसहितको भ्रष्टाचारमुक्त र सुशासनयुक्त सरकार बनाउन लागेको उनले बताए ।
यस्तै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले भवन निर्माणका लागि मुख्यमन्त्री बानियाँ र मुख्यमन्त्रीको कार्यालयले खेलेको भूमिकाप्रति आभार प्रकरट गरे ।
सहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख भूपेन्द्र यादवले ५ वटा मन्त्रालयका भवनसहित ५ वटा संरचना पुनर्निर्माणका लागि कुल ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिए।
५ मन्त्रालय रहेको भवन पुनर्निर्माणका लागि १ करोड ८४ लाख लागत अनुमान गरिएकोमा सत्गुण कन्स्ट्रक्सनले १ करोड २८ लाखमा ठेक्का सम्झौता गरेर काम गरेको उनले बताए । सम्झौता भएको छोटो अवधिमै निर्माण व्यवसायीले गुणस्तरीय काम सम्पन्न गरेको उनको भनाइ छ।
सहरी विकास तथा भवन कार्यालय, मकवानपुरले बृहत मर्मत तथा पुनःनिर्माण गरेपछि उद्घाटन गरिएको हो । समारोहमा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको समेत उपस्थिति रहेको थियो ।


























































