काठमाडौं — ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रम नेपाली कांग्रेसका सभापति गगनकुमार थापा को प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहका क्रममा अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गर्दै दामन पाख्रिनको जीवन, संघर्ष र योगदानलाई सम्मानपूर्वक स्मरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दामन पाख्रिनलाई अन्यायविरुद्ध न्यायको पक्षमा निर्भीक रूपमा उभिने ऐतिहासिक व्यक्तित्वका रूपमा चित्रण गरे। उनले भने, “दामन पाख्रिनले गरिब, निमुखा र सर्वसाधारण जनताको पक्षमा उभिँदै शोषण र अन्यायविरुद्ध आवाज उठाउनुभएको थियो। उहाँ साहु–महाजनको अनुचित ब्याजदर र अत्याचारविरुद्ध लड्ने सच्चा नायक हुनुहुन्थ्यो।”
मुख्यमन्त्री बानियाँले पाख्रिनको योगदान केवल इतिहासमा सीमित नभई वर्तमान समाजका लागि पनि उत्तिकै प्रेरणादायी रहेको उल्लेख गर्दै यस्ता कृतिहरूले नयाँ पुस्तामा चेतना र जागरण ल्याउने विश्वास व्यक्त गरे।
उनले कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरू, पाख्रिनका परिवारजन तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै दामन पाख्रिनप्रति हार्दिक श्रद्धा र सम्मान प्रकट गर्दै आफ्नो भनाइ टुंग्याएका थिए।


























































