काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सेल्टरहरूमा अस्थायी रूपमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय भक्तपुरले चाँगुनारायण नगरपालिका–खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।
आर्थिक अभाव, अस्थायी बसोबास तथा नियमित स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका कारण विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका सुकुम्बासी नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमार्फत आवश्यक स्वास्थ्य परामर्श, औषधि वितरण तथा थप उपचार आवश्यक परेका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
विशेषगरी बालबालिकाको पोषण अवस्था, महिलाको स्वास्थ्य, ज्येष्ठ नागरिकको नियमित परीक्षण तथा दीर्घरोग सम्बन्धी समस्याको पहिचानमा शिविर केन्द्रित रहेको थियो । साथै अस्थायी रूपमा सेल्टरमा बसोबास गरिरहेका परिवारहरूको दैनिक जीवनयापन, सरसफाइ, पोषण तथा स्वास्थ्य सचेतनाको अवस्थाबारे समेत जानकारी लिइएको थियो ।
यसक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ स्वयं सेल्टर स्थलमा पुगेर नागरिकहरूको बसोबास, खानपिन, बालबालिकाको शिक्षा, स्वास्थ्य अवस्था तथा दैनिक जीवनका समस्याबारे प्रत्यक्ष जानकारी लिएका थिए । उनले सुकुम्बासी परिवारसँग संवाद गर्दै उनीहरूको आवश्यकता, समस्या र अपेक्षालाई नजिकबाट बुझेको बताइएको छ ।
मुख्यमन्त्री बानियाँले केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीच आवश्यक समन्वय गरी भूमिहीन तथा विपन्न नागरिकहरूको आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले स्वास्थ्य, शिक्षा, सुरक्षित आवास तथा मानवअधिकारको प्रत्याभूति राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गरिने धारणा व्यक्त गरे ।
सामाजिक उत्तरदायित्व, मानव सेवा तथा जनस्वास्थ्यप्रति प्रदेश सरकारको प्रतिबद्धताको उदाहरणका रूपमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरप्रति स्थानीयवासी तथा सेल्टरमा बसोबास गर्ने नागरिकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।


























































