काठमाडौं – सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमाबारबाट देशभर सरसफाइ सप्ताह सुरु गरेको छ ।
जेठ १ गतेसम्म चल्ने सरसफाइ सप्ताह राष्ट्रिय अभियानको वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा औपचारिक रुपमा शुभारम्भ गरिएको हो । यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखिएको सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३ मा उल्लेख गरिएको छ ।
सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा सरकारले सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन तयार पारेको हो ।
सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक रहेकाले सरकारले सरसफाइ सप्ताह सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेतोले जानकारी दिइन ।
सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शनमा कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्ने, पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ ।
अभियानले सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्ने बताइएको छ ।


























































