काठमाडौं – स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्री प्रकरणमा आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषयमा सम्बन्धित बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको विवरणप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्पूर्ण प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाइएको दाबी गरेको हो ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकारअनुसार निक्षेपकर्ताको रकम सुरक्षित गर्न कर्जा असुली प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ । बैंकले कर्जा असुली निर्देशिकाको पूर्ण पालना गर्दै कानुनी दायित्वअनुसार कारबाही गरिएको जनाएको छ ।
बैंकका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्रीको लिलाम बिक्रीका लागि २०८२ असोज ३ गते सूचना प्रकाशित गरिएको थियो । सोही सूचनाअनुसार लिलाम प्रक्रिया सम्पन्न हुँदा कुल ४ अर्ब ६० करोड रुपैयाँ संकलन भएको बैंकले जनाएको छ ।
उक्त रकममध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा चुक्ता गरिएको र बाँकी ३८ करोड रुपैयाँ भने सम्बन्धित निकायबाट खाता रोक्का गरिएकाले बैंकको ‘अर्नेस्ट मनी अकाउन्ट’मा राखिएको जानकारी दिइएको छ ।
बैंकले सो रकम दूरसञ्चार उपकरण जडान भएका घर–जग्गाधनीलाई तिर्न बाँकी घरभाडा, विद्युत महसुल लगायतका दायित्व भुक्तानी गर्नका लागि रोक्का राखिएको स्पष्ट पारेको छ । सम्बन्धित निकायबाट प्रमाणसहित अनुरोध प्राप्त भएपछि क्रमिक रूपमा भुक्तानी गरिने पनि बैंकले जनाएको छ ।
यस प्रकरणमा अनुसन्धानका लागि माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराइएको र आगामी दिनमा समेत निरन्तर सहयोग गरिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
बैंकले उक्त अनुसन्धानका कारण दैनिक सेवा प्रवाह, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै असर नपर्ने दाबी गर्दै सम्पूर्ण सरोकारवालालाई ढुक्क रहन आग्रह गरेको छ । 



























































