काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विदेशी विशेषज्ञको सहयोग लिनुपरेको बताएका छन्।
आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री खनालले स्वदेशी जनशक्तिबाट मात्रै उद्धार सम्भव नभएपछि चीन र भारतबाट विशेषज्ञ टोली बोलाइएको जानकारी दिएका छन्।
उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार अन्य मुलुकबाट समेत सहयोग लिन सकिने बताएका छन्। बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको उनको भनाइ छ।
मन्त्री खनालले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको छ। आवश्यकताअनुसार सहयोग लिन्छौँ।”
सरकारले उद्धार कार्यलाई प्राथमिकतामा राख्दै आवश्यक प्रविधि, जनशक्ति र विशेषज्ञको सहयोग जुटाउने तयारी गरिरहेको बताएका छन्। सुरुङमा फसेकाहरूको उद्धारका लागि चीन र भारतका विशेषज्ञको प्राविधिक सहयोग महत्वपूर्ण हुने सरकारको अपेक्षा छ।































































