विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय ले इलाका प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई २०८२ साल वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक साहले फरार प्रतिवादी पक्राउ, अदालतमा उपस्थित गराउने कार्य, प्रविधिमैत्री प्रहरी सेवा प्रवाह तथा ड्रोन क्यामेरा प्रयोगमार्फत अपराध रोकथाम र अनुसन्धानलाई प्रभावकारी बनाएको कार्यालयले जनाएको छ।
त्यसैगरी, नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान, चेतनामूलक सन्देश प्रवाह, सुधार शाखा निर्माण तथा हिरासत कक्षमा पुस्तकालय स्थापना जस्ता नवप्रवर्द्धनात्मक कार्यमार्फत नागरिक–प्रहरी सम्बन्ध मजबुत बनाउन उनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै प्रहरी निरीक्षक साहलाई वैशाख महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको प्रहरीले जनाएको छ।


























































