काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना तथा जनधनको क्षति न्यूनीकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष (स्टल) को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमान प्रविधि अत्यन्तै विश्वसनीय बन्दै गएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठुला दुर्घटना निम्तने गरेकोतर्फ ध्यानाकर्षण गराए । उनले नाफाभन्दा मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी र चालकहरूलाई निर्देशन दिए ।
उनले जोखिमयुक्त क्षेत्रमा जबरजस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न चालक तथा यात्रु दुवैलाई अपिल गरे । साथै, यातायात क्षेत्रको सुधारका लागि भएका प्रयासहरूको चर्चा गर्दै जथाभाबी पार्किङ गर्ने प्रवृत्तिको अन्त्य हुनु सकारात्मक भएको बताए ।
एआईजी कार्कीले बसपार्कभित्र आवश्यक न्यूनतम पूर्वाधारको व्यवस्थापन भइसकेको जानकारी दिँदै ट्राफिक नियमको पालना निरन्तर गर्न आग्रह गरे । यातायात क्षेत्रमा हुने विवाद समाधान र सुरक्षाका लागि प्रविधिको प्रयोगमा जोड दिँदै हालसम्म ४ सयभन्दा बढी सवारीसाधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको जानकारी दिए ।
यसबाट सवारी दुर्घटनाको सही पहिचान हुने र न्याय प्राप्तिमा सहज हुने उनको विश्वास छ । साथै, अनलाइन टिकटिङ र यात्रुको सामान सुरक्षाका लागि सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा लागू गर्न उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ध्यानाकर्षण गराए ।
उनले भने, “अहिले प्रविधिको विकासले मौसमको जानकारी ठ्याक्कै मिल्न थालेको छ, तर हामी त्यसलाई पालना गर्दैनौँ । पूर्वानुमानलाई स्वीकार गरी सोहीअनुसार यात्राको योजना बनाउने हो भने सम्भावित जोखिमबाट जोगिन सकिन्छ । प्रहरीले रोक्दारोक्दै पनि जोखिम मोलेर अघि बढ्ने र समस्यामा परेपछि उद्धार भएन भन्ने दोहोरो मापदण्डले थप जटिलता ल्याएको छ । आफ्नो सुरक्षामा आफैं बढी सजग हुनुपर्छ ।”


























































