काठमाडौं- विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।
सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रुपको भ्रम चिरौ, कुलतबाट टाढा बसौं, स्वास्थ जीवन रोजै भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइएको हो । नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि चेतना फैलाउने उदेश्यका साथ हरेक वर्ष मे ३१ तारिखमा यो दिवस मनाइन्छ ।
दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थले सेवनकर्ता मात्रै नभइ समग्र परिवारलाई समेत असर पर्ने भएकाले सचेतना आवश्यक रहेको बताएका छन्। उहाले सुर्तीजन्य पदार्थले मुखको क्यान्सर हुने भएकाले समाज नै उदाहरण बनेर सुर्तीजन्य पदार्थलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।
निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लूएचओले जनाएको छ । बडब्लयूएचओले स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।


























































