काठमाडौं – सनुर्वी इन्टरनेशनल नेपालको आयोजनामा हुने ‘मिस्टर एण्ड मिस नेशनल २०२६’ को विजेता घोषणा गरिएको छ। विगत चार वर्षदेखि प्रतियोगितात्मक ढंगले सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा यस वर्ष भने विशेष आन्तरिक छनोट प्रक्रियामार्फत विजेता चयन गरिएको आयोजकले जनाएको छ।
राजधानीस्थित होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा निर्णायकहरूको आन्तरिक मूल्याङ्कनका आधारमा मिसतर्फ पूर्णिमा कार्की र मिस्टरतर्फ मृदुल आचार्य विजेता घोषित भएका हुन्।
विजेता पूर्णिमा कार्कीले पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रानेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मृदुल आचार्यले ‘मिस्टर सुप्रानेशनल २०२६’ मा नेपालबाट सहभागिता जनाउनेछन्।
निर्णायक मण्डलमा रिचर्ड, डा। सन्तोष उपाध्याय, धिरजकाजी बस्नेत, कलाकार मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी तथा क्षितिज श्रेष्ठ क्षेत्री रहेका थिए। उनीहरूको मूल्याङ्कनका आधारमा विजेताको घोषणा गरिएको हो।
२४ वर्षीया पूर्णिमा कार्की पेशाले अधिवक्ता तथा सञ्चारकर्मी हुन्। उनी लोकप्रिय यात्रा वृत्तचित्र शृंखला ‘यात्रा नेपाल को’ की प्रस्तोता समेत हुन्। साथै, उनी एक कानुनी फर्ममा कानुनी विश्लेषकका रूपमा कार्यरत छिन्। विभिन्न सामाजिक तथा अन्तर्राष्ट्रिय संस्थामार्फत नागरिक अधिकार, नीति तथा युवा सशक्तीकरणका क्षेत्रमा पनि उनी सक्रिय रहँदै आएकी छन्।
त्यस्तै, ३० वर्षीय मृदुल आचार्य सिभिल इन्जिनियर हुन्। उनले निर्माण व्यवस्थापन र व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। इन्जिनियरिङ पेशासँगै स्वतन्त्र मोडलका रूपमा समेत परिचित आचार्य निर्माण तथा जलविद्युत् क्षेत्रमा सक्रिय छन्। पूर्वाधार विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउँदै आएका उनी आतिथ्य व्यवसायमा समेत संलग्न छन्।
सनुर्वी इन्टरनेशनलद्वारा आयोजित प्रतियोगिताको प्रायोजन महेन्द्र अग्नि ग्रुप र रत्न ज्वेलर्सले गरेका छन्।



























































