काठमाडौं – हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालय तथा स्थापनाकर्ता शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको छ ।
मंगलबार विभागमा आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतद्वारा उक्त नयाँ हुलाक टिकटमा टाँचा प्रदान गरिएको छ । नेपालको प्रथम महिला प्राध्यापक समेत हुनुभएका शान्ति मिश्रले आफ्नो पद छाडी विश्वविद्यालयको आवश्यकता अनुसार अन्तराष्ट्रिय स्तरमा नै ख्याति हुने गरि आधुनिक पुस्तकालय निर्माण गरि योगदान गर्नुभएको कदरस्वरुप उनको तस्वीरअंकीत हुलाक टिकट प्रकाशन गरिएको बिभागले जनाएको छ ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव बस्नेतले पुस्तकालय बिज्ञानमा एमए गर्ने प्रथम नारी तथा प्रथम महिला लाइब्ररियनको रुपमा मिश्रको योगदानको चर्चा गरे । साथै उनले हुलाक सेवा विभागलाई आवश्यक बजेटको कमी हुन नदिन आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।
त्यसैगरी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले त्रिभुवन विश्वविद्यालयमा रहेको आधुनिक पुस्तकालयको सुरुवातका लागि मिश्रले गर्नुभएको भूमिका प्रशंसनीय रहेकाले कदरस्वरुप बिभागले टिकट प्रकाशन गरिएको बताए ।
उनले स्वर्गीय शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएसंगै उनको योगदानको निरन्तर स्मरण हुने धारणा राखे ।



























































