काठमाडौं- निजी मेडिकल कलेजहरूमा कार्यरत इन्टर्न चिकित्सकहरूले न्यून भत्तामा लामो समय काम गर्न बाध्य पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। देशभरका विभिन्न निजी मेडिकल कलेजमा इन्टर्न गरिरहेका चिकित्सकहरूले दैनिक ८ घण्टासम्म सेवा दिँदा पनि मासिक १० हजारदेखि १७ हजार रुपैयाँसम्म मात्रै भत्ता पाउने गरेको बताएका छन्।


ADVERTISEMENT


इन्टर्न चिकित्सकहरू अस्पतालका वार्ड, आकस्मिक कक्ष, ओपीडी तथा अन्य सेवामा सक्रिय रूपमा खटिने भए पनि उनीहरूको श्रमअनुसार पारिश्रमिक नपाइएको गुनासो छ। उनीहरूले स्वास्थ्य सेवा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि उचित मूल्यांकन हुन नसकेको बताएका छन्।


ADVERTISEMENT

# # #


सरकारी शिक्षण अस्पतालहरूमा भने इन्टर्न चिकित्सकलाई तुलनात्मक रूपमा बढी भत्ता उपलब्ध गराइँदै आएको छ। यसले सरकारी र निजी संस्थाबीच ठूलो असमानता देखिएको चिकित्सकहरूको भनाइ छ।

इन्टर्न चिकित्सकहरूले सबै शिक्षण संस्थामा समान मापदण्डअनुसार निर्वाह भत्ता व्यवस्था गर्न माग गरेका छन्। यस विषयमा सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म ठोस निर्णय हुन नसकेको उनीहरूको आरोप छ।

चिकित्सा शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि भावी चिकित्सकको मनोबल उच्च राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न इन्टर्न चिकित्सकका लागि सम्मानजनक भत्ता तथा कार्य वातावरण आवश्यक रहेको बताएका छन्।