काठमाडौं- ग्लोबल आइएमई बैंकले नेपालमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।


ADVERTISEMENT


विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले इन्क्युबेसन कार्यक्रमका लागि देशभरका नवप्रवर्तनशील सोच भएका युवा तथा उद्यमीबाट आवेदनसमेत खुला गरेको हो।


ADVERTISEMENT

# # #


बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक घोषणा गर्दै उद्यमशालाले व्यवसाय सुरु गर्न चाहने युवादेखि व्यवसाय विस्तार गर्न चाहने उद्यमीलाई आवश्यक ज्ञान, सीप, परामर्श र मार्गदर्शन उपलब्ध गराउने बताए। उनका अनुसार कार्यक्रमले उद्यमशीलताको संस्कृतिलाई सुदृढ बनाउँदै दिगो र प्रतिस्पर्धी व्यवसाय निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

कार्यक्रम अन्तर्गत इन्क्युबेसन र एक्सेलेरेसन गरी दुई चरण रहनेछन्। इन्क्युबेसन चरणमा व्यवसाय सुरु गर्न चाहने युवालाई व्यवसाय योजना, क्षमता अभिवृद्धि, सञ्जाल विस्तार तथा अनुभवी व्यवसायीको मार्गदर्शन प्रदान गरिनेछ। एक्सेलेरेसन चरणमा भने सञ्चालनमा रहेका तर व्यवसाय विस्तार, स्तरोन्नति, बजार विस्तार वा प्रविधि प्रयोगमा चुनौती भोगिरहेका उद्यमीलाई विशेष सहयोग गरिने बैंकले जनाएको छ।

सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना, बैंकिङ पहुँच तथा व्यवसाय विकासका रणनीतिबारे व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्। कार्यक्रममा उद्योग क्षेत्रका विज्ञ, सफल उद्यमी तथा प्रशिक्षकहरूले प्रत्यक्ष प्रशिक्षण र परामर्श दिने व्यवस्था गरिएको बैंकको भनाइ छ।
ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी वाणिज्य बैंक हो।

बैंकसँग ३४४ शाखा, ३६८ एटीएम, एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन्। बैंकले ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुका साथै विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।