काठमाडौं – राष्ट्रिय श्रम, संस्कृति  पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने भन्दै सभामुखसँग रुलिङ गर्न माग गरेका छन्।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने आवश्यकता औँल्याउँदै यस विषयमा संसदमार्फत स्पष्ट जवाफ आउनुपर्ने बताएका छन्। विपक्षी दलको आन्दोलन जारी रहेकाले सभामुखले रुलिङ गरी प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन निर्देशन दिनुपर्ने उनको माग थियो।


ADVERTISEMENT

# # #


उनले संसदको नियम सबै पक्षले समान रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै एक पक्षले नियम मान्ने र अर्को पक्षले नमान्ने अवस्था रहे अराजकता निम्तिने चेतावनी दिएका छ्न्। प्रधानमन्त्री तथा मन्त्रीहरू नियमित रूपमा संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।

साम्पाङले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना गरेको आरोपमा एक युवालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री वा मन्त्रीलाई गाली गर्दा तत्काल कारबाही हुने तर सांसदहरूलाई ज्यान मार्ने वा घर जलाउने धम्की दिँदासमेत कारबाही नभएको भन्दै सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाएएका छन्।

त्यस्तै, उनले सडक आश्रित दृष्टिविहीन नागरिकको दीर्घकालीन व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै प्रारम्भिक चरणमा १० देखि १५ जनालाई रोजगारीको अवसर उपलब्ध गराएर कार्यक्रम सुरु गर्न सुझाव दिएका छन्।