काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा लाग्दा नागरिकको सुरक्षा, सम्मान र मौलिक अधिकार कमजोर बन्दै गएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनालाई राज्य सञ्चालन प्रणालीप्रतिको गम्भीर चेतावनीका रूपमा व्याख्या गरेका छन्।
उनले दुईतिहाइको सरकार गठन हुँदा जनताले राजनीतिक स्थायित्व, सुशासन र सहज सार्वजनिक सेवा प्रवाहको अपेक्षा गरे पनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको बताएका छन्। राज्यका संयन्त्रहरू कानुनको न्यायपूर्ण कार्यान्वयनभन्दा पनि सरकारलाई खुसी पार्न आवश्यकताभन्दा बढी कठोर बन्न थालेको उनको आरोप छ।
महरले पुनर्स्थापनाको सुनिश्चित योजना र पर्याप्त संवादबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले राज्य र नागरिकबीचको विश्वास कमजोर बनाएको उल्लेख गरेका छन्। यस्ता कदमले नागरिकमा असुरक्षा र निराशा बढाएको उनको भनाइ छ।
गणेश नेपालीको आत्मदाहको प्रयासलाई उनले व्यक्तिगत घटनाका रूपमा नभई राज्यप्रति बढ्दो अविश्वास र नागरिकको पीडाको अभिव्यक्तिका रूपमा लिनुपर्ने बताएका छन्।
महरले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित नागरिकको सम्मानजनक पुनःस्थापनाका लागि स्पष्ट र व्यवहारिक नीति ल्याउन सरकारसँग माग गरेका छन्।
उनले अन्त्यमा लेखेका छन्, “राज्यको पहिलो दायित्व नागरिकलाई डर देखाउनु होइन, विश्वास दिलाउनु हो। प्रशासनको सफलता आदेशको कठोर कार्यान्वयनले होइन, नागरिकको अधिकार, सम्मान र सुरक्षाको प्रत्याभूतिले मापन हुन्छ।”
महरले विकास र सुशासन जनताको सहभागिता, खुला संवाद र मानवीय संवेदनशीलताका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।



























































