काठमाडौं – फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डले आफ्नो–आफ्नो क्वार्टरफाइनल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।
अब विश्व फुटबलका दुई शक्तिशाली टोलीबीच फाइनल प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा स्विट्जरल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। ६७औँ मिनेटमा डान एनडोयेले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएको हो । खेलको ७२औँ मिनेटमा ब्रेल एम्बोलो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो। त्यसपछि अर्जेन्टिनाले लगातार दबाब बनाए पनि निर्धारित ९० मिनेटभित्र विजयी गोल निकाल्न सकेन र खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को शानदार जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
उता, अर्को क्वार्टरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले पराजित गर्दै आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुनरागमन गरेको छ। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलबाट नर्वेले अग्रता लिए पनि इङ्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङघमले दुई गोल गर्दै टोलीलाई उत्कृष्ट पुनरागमनसहित जित दिलाएका हुन्। पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेको यात्रा भने अन्तिम आठमै टुंगिएको छ।
अब विश्व फुटबलका दुई चर्चित टोली अर्जेन्टिना र इङ्ल्यान्ड फाइनल प्रवेशका लागि सेमिफाइनलमा आमनेसामने हुनेछन्। दुवै टोली उपाधि नजिक पुग्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले यो खेल विश्वभरका फुटबल समर्थकको विशेष प्रतीक्षामा रहनेछ। अर्जेन्टिना र इङ्ल्यान्डबीचको सेमिफाइनल खेलले विश्वकपको नयाँ फाइनलिस्ट तय गर्नेछ। फुटबलप्रेमीको नजर अब यही बहुप्रतीक्षित प्रतिस्पर्धामाथि केन्द्रित हुनेछ।
/p>



























































