काठमाडौं- बागमती प्रदेश सरकारको शिक्षा क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै श्री चक्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।


ADVERTISEMENT


बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता, सामाजिक विकास मन्त्री माननीय कञ्चनचन्द्र वादेको विशेष उपस्थिति तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमले शिक्षा क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथमिकतालाई पुनः उजागर गरेको छ।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले गुणस्तरीय शिक्षाको आधार आधुनिक र सुरक्षित शैक्षिक पूर्वाधार भएको उल्लेख गर्दै प्रदेश सरकारले विद्यालयहरूको भौतिक संरचना सुदृढीकरण, शिक्षामा समान पहुँच र विद्यार्थीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले शिक्षामा गरिएको लगानी नै समृद्ध प्रदेश र सक्षम नागरिक निर्माणको सबैभन्दा प्रभावकारी आधार भएको धारणा व्यक्त गरेका छन्।

सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले नयाँ भवनले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासका लागि मन्त्रालय निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। सचिव खुबीराम अधिकारीले गुणस्तरीय शिक्षासँगै आधुनिक पूर्वाधार विस्तार प्रदेश सरकारको दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरेका छन्।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यालयमा अध्ययन–अध्यापनको वातावरण अझ सहज, सुरक्षित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

शिक्षालाई विकासको मूल आधार मान्दै बागमती प्रदेश सरकारले विद्यालयहरूको पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर कार्य गरिरहेको सन्देश यस उद्घाटन कार्यक्रमले दिएको छ।