काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले आत्मदाहमा ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
आइतबार मृतक गणेश नेपालीको परिवारलाई भेट्न पुगेका बस्नेतले मृतककी आमालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। विकट जिल्लामा रहेको परिवारको आर्थिक अवस्था कमजोर भएकाले तत्काल राहतस्वरूप सहयोग गरेको उनले बताएका छन्।
बस्नेतले गणेश नेपालीका छोराछोरीलाई महानगर वा अन्य निकायबाट सहयोग नपाए स्नातक तहसम्म निःशुल्क अध्ययन गराउने प्रतिबद्धतासमेत जनाएका छन्।
उनले यसअघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपहिरो प्रभावित ३०० भन्दा बढी बालबालिकालाई काठमाडौं ल्याएर अध्ययन गराएको अनुभव पनि सुनाएका छन्।
यस अवसरमा बस्नेतले सवारीसाधनमा लगाइने जरिवाना अन्तर्राष्ट्रिय अभ्यास र नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखेर निर्धारण गर्नुपर्ने धारणा राखे। जरिवाना बढाउनुभन्दा सडक सुरक्षा र जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउन सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
बस्नेतले सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्न नसकेको आरोप पनि लगाए। साथै, वर्तमान सरकार जनमुखी कामभन्दा प्रतिशोधको राजनीतिमा बढी केन्द्रित भएको टिप्पणी गर्दै नागरिकका आधारभूत समस्या समाधानमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।



























































