काठमाडौं- पछिल्लो समय बढिरहेका आत्मदाहका घटनाले समाजलाई गम्भीर रूपमा झस्काइरहेका बेला साहित्यकार झमक घिमिरेले जीवनप्रति आशा नहार्न र कुनै पनि परिस्थितिमा आत्मदाहजस्तो कदम नचाल्न सबैलाई मार्मिक अपिल गरेकी छन्।
गणेश नेपालीको आत्मदाह घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिमिरेले मानिसले भोग्ने पीडा, अभाव र संघर्ष फरक–फरक हुन सक्ने भए पनि जीवन समाप्त गर्नु त्यसको समाधान नहुने उल्लेख गरेकी छन्। आफू जन्मदेखि नै शारीरिक चुनौतीबीच संघर्ष गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउँदै उनले जीवनले सधैं नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन्।
घिमिरेले आवेगमा गरिने निर्णयले व्यक्तिको मात्रै होइन, परिवार र समाजलाई पनि गहिरो पीडा दिने उल्लेख गर्दै मनमा निराशा वा असह्य पीडा भए त्यसलाई एक्लै बोकेर नबस्न आग्रह गरेकी छन्। उनले विश्वासिलो व्यक्ति, परिवार, साथीभाइ वा सम्बन्धित विज्ञसँग खुला रूपमा कुरा गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
उनले जीवनमा दुःख र चुनौती आउँदैमा भविष्य समाप्त नहुने भन्दै धैर्य, सकारात्मक सोच र निरन्तर संघर्षले कठिन परिस्थितिलाई पनि पार गर्न सकिने सन्देश दिएकी छन्। पछिल्ला आत्मदाहका घटनाले समाजमा मानसिक स्वास्थ्य, सामाजिक सहारा र संवेदनशील संवादको आवश्यकता अझ स्पष्ट रूपमा उजागर गरेको उनको भनाइ छ।
घिमिरेको सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। धेरैले यसलाई निराशामा रहेका व्यक्तिलाई आशा र हौसला दिने प्रेरणादायी सन्देशका रूपमा लिएका छन्।



























































