काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग गरेको छ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले कांग्रेस सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए। त्यसक्रममा गुरुङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखमार्फत रुलिङ गर्न माग गरिन्।
उनले प्रधानमन्त्रीप्रति युवापुस्ताले ठूलो आशा राखेको भए पनि सरकारको कार्यशैलीले त्यो आशा निराशामा बदलिँदै गएको टिप्पणी गरिन्। जनसरोकारका विषयमा उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकारलेस्टन्टबाजी र विषयान्तर गर्ने शैली अपनाएको उनको आरोप छ।
गुरुङले मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सरकारले ध्यान अन्तै मोड्ने प्रयास गरेको आरोप लगाउँदै सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णय त्यसैको उदाहरण भएको बताएकी छिन्।
उनले सुकुम्बासीलाई सुरक्षित स्थानमा सार्ने नाममा पर्याप्त तयारीबिनै डुबान प्रभावित क्षेत्रमा राखिएको र त्यसपछि भएका घटनामा नौ जनाले ज्यान गुमाएको उल्लेख गर्दै यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको संज्ञा दिएकी छिन्।
सरकारको अव्यावहारिक नीतिका कारण सुकुम्बासी समुदाय ठूलो पीडामा परेको, बालबालिकाको पढाइ प्रभावित भएको, वृद्धवृद्धा र बिरामी थप समस्यामा परेको भन्दै उनले सरकारलाई जनताको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेकी छिन्।
अन्त्यमा उनले प्रधानमन्त्रीलाईअसफलताको एक्सप्रेस वे होइन, सफल नेतृत्वको बाटो रोज्न’ सुझाव दिँदै गति मात्र होइन, सही दिशा पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गरेकी छन्।