काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएको घटनामा छानबिन प्रक्रिया सुरु भएको छ।
परीक्षाको प्रश्नपत्र बाहिरिएपछि त्रिविले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो र परीक्षा प्रणालीमा कहाँ कमजोरी भयो भन्ने विषयमा अध्ययन गर्नेछ।
प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको आरोपमा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रश्नपत्र ह्वाट्सएपमार्फत केही व्यक्तिहरूबीच आदान–प्रदान भएको देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा डिजिटल प्रमाण संकलनको काम भइरहेको छ।
यस विषयमा शिक्षा मन्त्रालयले समेत गम्भीर चासो देखाउँदै परीक्षा प्रणालीको विश्वसनीयता कायम राख्न दोषीमाथि कानुनी कारबाही गर्न निर्देशन दिएको छ। साइबर ब्युरोमा समेत उजुरी परेपछि अनुसन्धान थप अघि बढाइएको हो।
त्रिविले परीक्षा प्रणालीको मर्यादा र गोपनीयता कायम राख्न आवश्यक कदम चालिने जनाएको छ। प्रश्नपत्र लिक प्रकरणले विश्वविद्यालयको परीक्षा व्यवस्थापन र सुरक्षा प्रणालीमाथि पुनः प्रश्न उठाएको छ।



























































