काठमाडौं- देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरूले राजधानीमा शक्ति प्रदर्शन गरेका छन्। आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले बल्खुदेखि भद्रकालीसम्म ‘राजधानी मार्च’ गरेका हुन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



लघुवित्त पीडितहरूको मार्च काठमाडौंको बल्खुबाट सुरु भएको थियो। विभिन्न जिल्लाबाट आएका पीडितहरू नाराबाजीसहित पैदल हिँड्दै भद्रकाली पुगेका थिए। भद्रकालीमा पुगेर उनीहरूले कोणसभा आयोजना गरेका थिए।

कोणसभामा सहभागी वक्ताहरूले लघुवित्त संस्थाका कारण आफूहरू आर्थिक तथा सामाजिक समस्यामा परेको गुनासो गरेका थिए। उनीहरूले ऋण मिनाहा, पीडितमैत्री नीति निर्माण, चर्को ब्याज नियन्त्रण र लघुवित्त क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

कोणसभा सकिएपछि आन्दोलनकारीहरू सुन्धारा पुगेका छन्। उनीहरू सुन्धारा क्षेत्रका फल्चाहरूमा बसेर आन्दोलनलाई निरन्तरता दिएका छन्।

आन्दोलनमा देशका विभिन्न भूभागबाट आएका महिला, वृद्धवृद्धा, बिरामी तथा बालबालिकासमेत सहभागी भएका थिए। केही महिलाहरूले दूधे बच्चालाई काखमा बोकेर लामो दूरी पैदल यात्रा गरेका थिए भने केही बिरामी अवस्थामै आन्दोलनमा सहभागी भएका थिए।

लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिहरूले आफूहरूको समस्या लामो समयदेखि सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यसअघि पनि लघुवित्त पीडितहरूले काठमाडौंमा पटक–पटक प्रदर्शन गर्दै आएका छन्। उनीहरूले वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा आफूहरू थप समस्यामा परेको र राज्यले दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै आएका छन्।

सरकारले भने लघुवित्त क्षेत्रका समस्या अध्ययन गरी आवश्यक सुधारका लागि पहल भइरहेको बताउँदै आएको छ। तर पीडितहरूले तत्काल राहत र ठोस निर्णयको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।