काठमाडौं- सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र नागरिकको सहज आवतजावत सुनिश्चित गर्न सशस्त्र प्रहरी बलले नयाँ विशेष टोली परिचालन गरेको छ।


ADVERTISEMENT


सशस्त्र प्रहरीले देशका मुख्य ६ वटा सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन गरेको हो। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गठन गरिएको उक्त टोलीको शुभारम्भ सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले रुपन्देहीको डण्डाबाट गरेका छन्।


ADVERTISEMENT

# # #


विशेष टोलीले सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई आवश्यक सहजीकरण गर्नेछ भने जोखिममा रहेका महिला तथा बालबालिकाको सुरक्षा र संरक्षणमा विशेष भूमिका खेल्नेछ।

सशस्त्र प्रहरीका अनुसार टोलीले सीमा क्षेत्रमा हुने मानव बेचबिखन, लागुऔषध ओसारपसार, तस्करी तथा अन्य आपराधिक गतिविधिमाथि निगरानी बढाउनेछ।

सीमा नाकालाई सुरक्षित, व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यले बोर्डर इन्टरएक्सन टिम परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले यस अभियानमार्फत सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउनुका साथै स्थानीय समुदायसँग सहकार्य गरेर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।